युगान्डाको कम्पालामा रक्तदान कार्यक्रम सम्पन्नः

Published On: Wednesday, February 19, 2020 | Source: NRNA UGANDA
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को आयोजनामा आइतवार १६ फेब्रुवरीका दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालाको आकासिस मलमा भएको रक्तदान कार्यक्रममा १ सय ३३ जनाले रक्तदान गरेका थिए ।
 
रक्तदान कार्यक्रममा नेपालीका अलावा स्थानीय युगान्डाका बासी र अन्य देशका व्यक्तिहरुले पनि रक्तदान गरेका थिए । स्थानीय ब्लड बैंकलाई सोही दिन रगत हस्तान्तरण गरिएको थियो ।
 
विश्व स्वास्थ्य संगठनका अनुसार युगान्डालाई वर्षेनी ३ लाख चालीस हजार युनिट रगत आवश्यक पर्ने गर्दछ । जसमध्ये २ लाख युनिट मात्र संकलन हुँदै आएको छ । रगतको अभावले धेरै युगान्डायालीहरुको अकालमा नै मृत्यु हुने गरेको पाइएकोले रगतको अभाव हुन नदिनका लागि एनसिसि युगाण्डाले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी आयोजक समितिका उपाध्यक्ष प्रेम बहादुर श्रेष्ठले दिनु भएको थियो ।
एनसिसि युगाण्डाका महासचिव कमल दत्त भट्टका अनुसार रक्तदानमा युगान्डायालीहरुको चासो हुने गरेको र यस कार्यक्रमको आयोजना गरेकोमा एनसिसि युगाण्डालाई धन्यवाद व्यक्त गरेका थिए । रक्तदान कार्यको स्थानीय चिकित्सक डा.डोरोथ्री चेयुले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
 
रक्तदान कार्यक्रमका एनसिसि युगाण्डाका महिला उपाध्यक्ष तारा गिरी, सचिव धनराज गिरी, कोषाध्यक्ष संजिव सापकोटा, सहकोषाध्यक्ष कल्पना अर्याल गैरे, महिला संयोजक वर्षा क्षेत्री, कार्यकारी सदस्य श्रवण, रमा अर्याल, निक्कु केसी लगायतले सक्रिय भूमिका निभाउनु भएको थियो ।
 
एनसिसि युगाण्डा ।